अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने

काठमाडौं

अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ । एक केजीको टुक्रा मात्रै आयात गर्दा खरिद–बिक्रीमा समस्या भएको भन्दै सानो परिमाणका टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो ।

अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयात गर्न पाइने व्यवस्था थिएन । यस्तो व्यवस्था परिवर्तन गरेर १ सय, २ सय, ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयात गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए । सानो परिमाणको टुक्रा आयात अनुमतिका लागि राष्ट्र बैंकले वाणिज्य मन्त्रालयसँग सहमति मागेको छ । मन्त्रालयबाट सहमति आउनेबित्तिकै प्रक्रिया मिलाएर आयातको अनुमति दिने राष्ट्र बैंकको भनाइ छ । नेपालमा विदेशबाट सुन आयातको अनुमति राष्ट्र बैंकले दिनुपर्छ । वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् । ‘एक केजीको टुक्रा सुन मात्रै आयात गर्दा खरिद बिक्रीमा समस्या भएको व्यापारीहरूको गुनासो थियो, अब सानो परिमाणको टुक्रा पनि आयात गर्न दिनका लागि वाणिज्य मन्त्रालयसँग सहमति मागेका छौं, वाणिज्य मन्त्रालय पनि सकारात्मक छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाले राजधानीसँग भने ।

वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजूले पनि सानो परिमाणको टुक्रा आयात गर्न दिन मन्त्रालय सकारात्मक रहेको बताए । राष्ट्र बैंकले मागेको सहमतिअनुसारकै निर्णय केही दिनमै हुने सैजुले जानकारी दिए । ‘सानो परिमाणका टुक्रा पनि आयात गर्न दिनका लागि राष्ट्र बैंकले सहमति मागेको छ, यो विषयमा मन्त्रालय सकारात्मक भएकाले केही दिनमा नै निर्णय हुन्छ,’ वाणिज्य मन्त्रालयका प्रवक्तासमेत रहेको सैजूले राजधानीसँग भने । वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यापारीहरूले खरिद गरेर सर्वसाधारणलाई बिक्री गर्ने गर्छन् । एक केजीभन्दा सानो परिमाणको सुनको टुक्रा आयात गर्न प्रतिबन्ध लगाइएकाले सानो कारोबार गर्नेलाई समस्या भएको गुनासो व्यापारीहरूले गर्दै आएका थिए । एकपटकमा कम्तीमा पनि एक केजी सुन खरिद गर्नैपर्ने बाध्यता रहेको र यसले बजारमा अवैध सुनको कारोबारलाई बढावा दिएको व्यापारीहरूको दाबी छ । एक केजीभन्दा सानो परिमाणको सुन आयात गर्ने पनि वाणिज्य बैंकहरूले नै हो ।

एक केजीभन्दा सानो परिमाणको सुनको टुक्रा आयात गर्न २४ क्यारेटकै सुन हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । ‘एक केजीभन्दा सानो परिमाणको टुक्रा २४ क्यारेटको ४९ ग्रेडकै सुन हुनुपर्ने व्यवस्था हुन्छ, त्योभन्दा कम गुणस्तरको भने १ केजीकै टुक्रामा ल्याउनुपर्छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने । सरकारले गत साउनदेखि विदेशबाट आउने नेपालीले काँचो सुन ल्याउन प्रतिबन्ध लगाएको थियो । सो समयभन्दा अगाडि एकजनाले ५० ग्रामसम्म काँचो सुन ल्याउन पाइने व्यवस्था थियो । गत साउनदेखि सो परिमाणको गहना ल्याउनुपर्ने व्यवस्था गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले एक केजीभन्दा सानो परिमाणको टुक्रा आयात नहुने व्यवस्थाका कारण व्यवसायीलाई समस्या भएको र बैंकले आयात गरेको सुन बिक्री नहुने समस्या रहेकाले सानो परिमाणको टुक्रा आयातको सुझाव दिइएको बताए ।

सानो परिमाणको टुक्रा ल्याउने हो भने व्यवसायीलाई पनि सहज हुने र बैंकले ल्याएको सुन पनि बिक्री हुने उनको भनाइ छ । ‘सबै व्यवसायीले एक केजीको टुक्रा किन्न सक्दैनन्, यसले एकातिर व्यापारीले सुन नपाउने र अर्काेतिर बैंकले ल्याएको सुन बिक्री नहुने समस्या छ, यसको समाधानका लागि सानो परिमाणको टुक्रा पनि आयात गर्न दिनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएको थियौं,’ अध्यक्ष शाक्यले राजधानीसँग भने । अहिलेको बजार मूल्यअनुसार एक केजी सुनको करिब ५२ लाख रुपैयाँ पर्छ । धेरै पैसाको व्यवस्था गर्नुपर्ने भएकाले व्यापारीहरूले किन्न नसकेको कारण बैंकले ल्याएको सुन बिक्री नभएको व्यापारीको भनाइ छ

राजधानी

Be the first to comment on "अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने"

Leave a comment

Your email address will not be published.


*